नियम ८
क्वारेन्टाइन अधिकृतको काम
(१) क्वारेन्टाइन अधिकृतले गर्नु पर्ने काम देहाय बमोजिम हुनेछ ः-
(क) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई क्वारेन्टाइनमा राखी निरीक्षण गर्ने र पशुहरूको लागि दाना, पानी तथा औषधि उपचार भए वा नभएको
जाँच गर्ने,
(ख) प्रयोगशाला परीक्षणको लागि पठाइएको नमूनाको नतीजा प्राप्त नभएसम्म त्यस्ता पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्नु पर्ने भएमा उपयुक्त किसिमले राखे वा नराखेको निरीक्षण गर्ने,
(ग) प्रत्येक खेपका पशुहरू लगेपछि क्वारेन्टाइन स्थलको सरसफाई र निःसंक्रमण गराउने,
(घ) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परिवहन गर्न प्रयोग गरिएका सवारी साधनहरू राम्रोसँग सरसफाई तथा निःसंक्रमण भए वा नभएको निरीक्षण गर्ने र सरसफाई तथा निःसंक्रमण नभएको पाइएमा सो कार्य गर्न लगाउने,
(ङ) विदेशी मुलुकबाट आएका परिवहनका साधनहरूद्वारा निष्काशित फोहर मैला रोग नफैलने गरी उचित तरीकाले व्यवस्था भएको छ वा छैन निरीक्षण गर्ने र आवश्यकता अनुसार तह लगाउने व्यवस्था मिलाउने,
(च) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीसँग सम्बन्धित प्रमाणपत्र र अन्य कागजातहरू जाँच्ने,
(छ) पैठारी गरिएका पशुमा कुनै संक्रामक रोग भएको पाइएमा वा शंका लागेमा सो विषयमा स्थानीय पशु सेवा कार्यालय, विभाग, कृषि मन्त्रालय र अन्य सम्बन्धित निकायलाई छिटो साधनद्वारा सूचना पठाउने,
(ज) पैठारी गरिएका पशुमा संक्रामक रोग भएको र पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै हानिकारक तत्व भएको शंका लागेमा त्यसको नमूना संकलन गरी परीक्षणको लागि विभागले तोकेको प्रयोगशालामा पठाउने र परीक्षणको नतिजा प्राप्त नभएसम्म त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री क्वारेन्टाइनमा राख्ने,
(झ) छिमेकी मुलुकका क्वारेन्टाइन चेकपोष्टसँग सम्पर्क तथा समन्वय कायम राख्ने ।